Main News Source.. Click hereबुटवल । प्युठानको सरुमारानी गाउँपालिका–४ ओखरडाँडामा सुत्केरी महिलाको हत्या आरोपमा ५ जना पक्राउ परेका छन् ।
१७ वर्ष अगाडि भएको सो हत्या घटनाका २ जना आरोपित अझै फरार रहेको प्रहरीले बताएको छ । यस्तै एक जना आरोपितको भने मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
स्थानीय ३० वर्षीया हरिकला बुढाथोकीको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले १७ वर्षपछि आरोपितहरूलाई पक्राउ गरेको हो ।
कुटपिटबाट घाइते भएकी बुढाथोकीको लुम्बिनी प्रादेशिक अस्पताल (तत्कालीन लुम्बिनी अञ्चल अस्पताल)मा उपचारका क्रममा मृत्यु भएको थियो ।
पक्राउ पर्नेमा ६७ वर्षीया हुमि कुमारी देवी सारु, ७५ वर्षीया दिलिसरा देवी सोमै, ४० वर्षीया सितादेवी पुलामी, ३९ वर्षीया झविसरा पुलामी र ४९ वर्षीया पुतलीदेवी नेपाली रहेको प्रहरीले जनाएको छ । उनीहरूमाथि आवश्यक अनुसन्धान गरी बुधबार प्युठान जिल्ला अदालतमा पेस गरिएको छ ।
उक्त घटनामा संलग्न ५३ वर्षीया निमिसरा राना र ४३ वर्षीया तारा बहादुर सारु अझै फरार रहेको प्रहरीले जनाएको छ । यस्तै घटनामा संलग्न रहेको आरोपित ५३ वर्षीया हुमीकुमारी रानाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।
बुढाथोकीका श्रीमान् धुर्वराज बुढा मगर रोजगारका लागि भारत गएको १४ महिनापछि हरिकलाले बच्चा जन्माएपछि अवैध सम्बन्ध राखेको भन्दै कुटपिट भएको थियो । सुत्केरी अवस्थामै कुटपिटबाट बुढाथोकीको ज्यान गएको थियो भने जन्मेको ५ दिनमै शिशुको पनि मृत्यु भएको थियो ।
Adblock test (Why?)